Indrenionline.com

वन अधिकृतलाई कार्यकक्षमै कुटपिट गर्ने पक्राउ

जाजरकोट । गएको आइतवार डिभिजन वन कार्यालय जाजरकोटका जिल्ला वन अधिकृत अमर प्रसाद साहमाथि कार्यकक्षमै कुटपिट गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भेरी नगरपालिका–७ बस्ने बिराजन शाही रहेका छन् । भेरी नगरपालिका–३ तल्लो थाप्ले स्थित कार्यालयमा कार्यरत अधिकृत साहलाई कार्यकक्षमै प्रवेश गरी हातपात गर्नुका साथै सरकारी कागजातहरू छरपस्ट पार्दै नष्ट गरिएको घटनामा संलग्न रहेको भन्दै उनलाई मुख्य अभियुक्तको रुपमा पक्राउ गरिएको हो । शुक्रवार बिहान ६ बजे नलगाड नगरपालिका–१० रावत गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

घटनामा संलग्न शाहीसहित अन्य केही व्यक्ति मुखमा कालो मास्क लगाएर अनधिकृत रूपमा कार्यालय प्रवेश गरी हातपात गरेका थिए । उनीहरू घटनापछि फरार भएका थिए । पक्राउ परेका शाहीलाई जिल्ला अदालत जाजरकोटबाट आपराधिक कार्यसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।