काठमाडौं । भ्रष्टाचार मुद्दामा काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत दोषी ठहर भएका छन्। शुक्रबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध गत पुस १५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। पद्मा कोलोनीका अध्यक्ष राजुप्रसाद कँडेलले आफ्नो कम्पनीको नाममा जग्गा प्राप्त गर्ने प्रयोजनका लागि घुस दिएको आरोप थियो।
कँडेलले मेयर बस्नेतलाई ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस दिएको अख्तियारले दाबी गरेको थियो। त्यस्तै सम्पत्ति शुद्धीकरणमा १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम गरेको थियो।
