Indrenionline.com

दुम्किबासको विनयी खोलाले बस बगायो, यात्रुको सकुशल उद्धार

नारायणगढ । हिजो बेलुकी एकतर्फी खुलेको नारायणगढ–बुटवल सडकखण्ड फेरि बन्द भएको छ । रातिदेखि दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

गएराति विनयी खोलामा बाढीले डाइभर्सनसँगै एउटा बस पनि बगाएको छ । तीन बच्चसहित ३८ जना यात्रु बोकेर पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस राति करिब ११ बजेतिर बगाएको हो ।

काठमाण्डौबाट नेपालगञ्जको लागि छुटेको बस डाइभर्सनसँगै थोरै बगेको र यात्रुलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । दाउन्ने र दुम्कीबास क्षेत्रमा पानी पर्नेबित्तिकै सडक हिलो र चिप्लो भएर जाम र दुर्घटनाको जोखिम भएकोले वैकल्पिक रुटको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले आग्रह गरेको छ ।

पूर्वबाट पश्चिम जाने गाडी नारायणगढ–मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै र काठमाण्डौबाट पश्चिम जाने गाडी मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल हुँदै जान प्रहरीको आग्रह छ ।