Indrenionline.com

एयर इन्डिया विमान दुर्घटना : २०४ जनाको मृत्यु

काठमाडौँ । अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको जहाज दुर्घटनामा २०४ जनाको मृत्यु भएको छ । गुजरातको अहमदाबाद विमानस्थलनजिकै भएको एयर इन्डियाको एआई १७१ जहाज दुर्घटनाबारे जानकारी दिँदै अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ वटा शव प्राप्त भएको बताएका छन् ।

प्रहरी आयुक्त मलिकले बीबीसी गुजराती सेवासँग कुरा गर्दै भनेका छन्, “केही सर्भाइभर पनि हुन सक्छन् तर अहिलेसम्म हामीले २०४ वटा शव संकलन गरेका छौँ ।” दुर्घटनामा परी घाइते भएका ४१ जनाको उपचारका जारी रहेको पनि प्रहरीले जनाएको छ ।

भारतीय समयअनुसार दिउँसो १ बजेर ३८ मिनेटमा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको थियो । विमानमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । विमान एउटा अस्पतालको भवनमा ठोकिएको थियो ।