Indrenionline.com

आलमलाई सफाइ दिने न्यायाधीशलाई कालो मोसो दलियो

विरगञ्ज । अफताब आलमलाई सफाइ दिने उच्च अदालत अस्थायी इजलास वीरगन्जका न्यायाधीश डा खुसीराम थारुलाई कालो मोसो दलिएको छ । आफूलाई नेकपा बहुमत पार्टीको कार्यकर्ता बताउँदै एक युवाको समूहले थारुलाई बिहीबार उहाँकै इजलासमा कालो मोसो दलेका हुन् ।

उच्च अदालत अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार दीपक भण्डारीले न्यायाधीश थारुमाथि भएको आक्रमणको पुष्टि गरेका छन् । इजलास सकेर फैसला लेखिरहेका न्यायाधीश थारुलाई इजलास कक्षमा जबरजस्ती प्रवेश गरी कालो मोसो दलेका हुन् । युवाहरुले भष्टचारी मुर्दावाद, बहुमत पार्टी जिन्दाबाद भन्दै थारुको शरीरमा कालो मसी छर्केछन् । तत्काल नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छौँ रजिस्ट्रार भण्डारीले बताए ।

न्यायाधीश थारुसहितको इजलासले केही दिनअघि मानिसलाई इट्टा भट्टामा जिउँदै जलाएर मारेको ज्यान मुद्दामा कारागारमा रहेका नेपाली काँग्रेसका पूर्व सांसद अफताब आलमलाई सफाइ दिने फैसला सुनाएको थियो। यसै फैसलाको विरोध गर्दै मोसो प्रहार गरिएको बताइएको छ ।