Indrenionline.com

कांग्रेस-एमालेले छानविन समिति बनाउन मानेनन्

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएपछि नेकपा माओवादीलगायत प्रतिपक्ष दल सांसदहरुले धेरै दिनदेखि सदन अवरोध गर्दै आएका छन् । उनीहरुले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र छानविन समिति गठन गरेर काम अघि बढाउनुपर्ने अडान राखेका छन् । तर सत्तापक्ष दल नेकपा एमाले र कांग्रेसले कुनै हालतमा गृहमन्त्रीले राजीनामा नदिने र छानविन समिति पनि गठन नगर्ने पक्षमा छन् ।

अझ भन्दा भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकमाथि छानविन गर्नका लागि छानबिन समिति गठन गर्नुपर्ने विपक्षीको मागप्रति सत्तापक्षले कुनै हालतमा स्विकार्न नसकिने जनाएको छ । सत्तापक्षले त अझ अपरिपक्व माग अघि सारेर विपक्षीले संसद्लाई बन्धक बनाएको आरोप लगाएको छ । मङ्गलबार र बुधबार दुवै दिनका बैठक सूचना टाँस गरेर स्थगित भएका छन् । बैठक स्थगित भएपछि बजेटमाथिको छलफल प्रभावित भएको छ ।

सत्ता र विपक्षी दुवैले अडान नछाडेपछि बुधबार १ बजेका लागि तय भएको बैठक सवा ३ बजेलाई सारिएको थियो । सारिएको समयमा समेत बैठक बस्न नसकेपछि बिहीबार १ बजे बस्ने गरी स्थगित गरिएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि विपक्षीले गृहमन्त्रीलाई संसद्मै बोल्न नदिने गलत नजिर स्थापित गर्न खोजेको बताए । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे अख्तियारले एउटा सहसचिवमाथि मात्र छानबिन गरिराखेकाले आफूहरूले समग्र भिजिट भिसाको समस्याबारे छानबिन समिति माग गरेको बताए । गृहमन्त्रीको राजीनामा नआउँदासम्म र छानविन समिति गठन नहुँदासम्म सदन अवरोध भइरहने उनले बताए ।