Indrenionline.com

राजदरबार हत्या काण्डको २४ वर्ष, घटना अझै रहस्यको गर्भमा

काठमाडौं । आफूहरुलाई राजावादी भन्ने राजनीतिक दलहरु अहिले राजतन्त्र चाहियो भन्दै सडकमा छन् । उनीहरुले केही दिनदेखि तर्वमान व्यवस्थाविरुद्ध आन्दोलन नै घोषणा गरेका छन् । तर, नोपलमा अहिल्यै विर्सन नसकिने घटना राजपरिवारको सामुहिक हत्या भएको आज २४ वर्ष पुगेको छ ।

वि.स. २०५८ जेठ १९ गते आजकै दिन तत्कालिन राजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको थियो । नेपालको कानुन अनुसार कुनै व्यक्तिको हत्या भयो भने त्यसको छानविन हुन्छ, हत्यारा पत्ता लागेपछि कानुनअनुसार कारवाही हुन्छ । तर, तत्कालिन रुपमा नेपाली जनताकै अभिभावक रहेका राजा र उनको परिवारको सामुहिक हत्या हुँदा समेत अहिलेसम्म कसैले पनि त्यो हत्या काण्डको छानविन गर्नु त परै जाओस कुरा समेत उठाएका छैनन् । अहिले राजावादी हौ भन्नेहरुले पनि त्यसको छानविनको कुरा उठाउदैनन् बरु उनीहरुले राजा चाहियो भनेर रटान मात्रै लगाएको पाइन्छ ।

२०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो। त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो।

अर्ध मूर्च्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो। दीपेन्द्र अर्ध मूर्च्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायवी घोषणा गरिएको थियो।

दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरिएको थियो। तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो।

छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन दिए पनि आम नेपालीले यसलाई स्वीकार गरेका छैनन्। विरेन्द्रको वंशनाश हुने गरी भएको घटना अझै रहस्यको गर्भमै छ ।