Indrenionline.com

प्रधानमन्त्रीको निर्देशन-“पर्यटकलाई कानुनी र प्रशासनिक झन्झट नदिनु”

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झन्झट नदिइ न्यानो आतिथ्य दिन आग्रह गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा प्रधानमन्त्री ओलीले विद्यमान अवरोधहरु हटाइ सुशासन र विकासको गतिलाई साहसिक ढङ्गले अगाडि बढाउन व्यापक सुधार गर्न आग्रह गरे ।

अध्यागमनमा यात्रुलाई अनावश्यक दुःख दिने, लगेज हराउने, सीमानाकाहरुमा पर्यटकलाई प्रवेशमा अनेक बाहना बनाउने जस्ता कार्य अन्त्य हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । सार्वजकि खरिद ऐन र अन्य नियमहरुमा व्यवसाय र काम गर्नका लागि कुनै बाधा छ भने परिवर्तन गर्न सरकार तयार रहेको पनि प्रम ओलीले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले नेपालको आकाश सुरक्षित भए पनि युरोपको आकाश नेपालका लागि अझै प्रतिबन्धित (कालो सूची) राखिएकामा शर्तबमोजिम हवाइ क्षेत्रका दुई निकायलाई अविलम्ब अलग्याउन र अरु मापदण्ड पनि पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

उनले पूर्वाधार विकाससँगै पर्यटन वृद्धिको कोशिश भइरहेको भन्दै भने, “हामीले पूर्वाधार विकाससँगै पर्यटन वृद्धिको कोशिश गरिरहेका छौँ । सम्पर्क सञ्जाल विस्तार गरिएको छ । नेपाल अब दुर्गम रहेन । जुम्लाको स्याउ काठमाडौँ राम्ररी आएर बजार पाउन थालेको छ । चीनसँग १४ नाका खोलिएको छ । किमाथांका नाकामा पुल बन्दैछ ।”