रुकुम। रूकुमपश्चिममा विद्युत मर्मतका लागि पोलमा चढेका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका ३ निवासी २९ वर्षीय खिमबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।
बिहीबार राति मुसीकोट नगरपालिका ४ बोहरागाउँमा विद्युत मर्मतका क्रममा पोलमा चढेका खड्कालाई करेन्ट लागेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले बताए । खड्का नेपाल विद्युत प्राधिकरण रूकुमकोट वितरण केन्द्रमा कार्यरत कर्मचारी हुन् ।
रूकुमपूर्वमा विद्युत अवरुद्ध भएपछि मर्मतका लागि पोलमा चढेका खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । केन्द्रीय प्रसारण लाइनको तार नजिकै रहेको सोलाबाङ लघु जलविद्युत आयोजनाको तारमा छोइदा खड्कालाई करेन्ट लागेको बताइएको छ ।
