इन्द्रेणी संवाववदाता
दाङ । डिभिजन वन कार्यालय दाङले गरेको सर्वाेक्षण तथा अनुगमनका क्रममा दाङका विभिन्न वन क्षेत्रमा सात वयस्क बाघ फेला परेका छन् । डिभिजन वन कार्यालय घोराहीको संयोजकत्वमा मध्य तराई भू–परिधि क्षेत्रमा पर्ने जिल्लाका वन इलाकामा बाघ अनुगमननिम्ति क्यामेरा राखिएका थिए । क्यामरामा एक भाले, दुई पोथी र चार लिंग पहिचान नभएका वयस्क बाघका तस्विर कैद भएको बताइएको छ ।
सर्वेषणका क्रममा क्यामरामा कैद भएको पाटे बाघ
डिभिजन वन कार्यालय दाङका वन अधिकृत वेसीन्द्रराज सुवेदीका अनुसार विभिन्न २३ स्थानमा जडान गरिएका क्यामेरामा ती तस्विर कैद भएका हुन् । गत वर्ष मंसिर २४ देखि माघ ४ गतेसम्म सञ्चालन गरिएको उक्त सर्वेक्षणमा ४० दिनसम्म दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएका १०९ ग्रीडमा क्यामेरा जडान गरी ४३६ वर्गकिलोमिटर वन क्षेत्रको निगरानी गरिएको थियो । उक्त अध्ययनमा दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र दंगीशरण गाउँपालिकाभित्रका वन क्षेत्रलाई समेटिएको थियो ।
जडान गरिएका धेरैजसो क्यामरामा बाघ नदेखिएको र केही क्षेत्रमा मात्रै बाघ देखिएको कार्यालयले जनाएको छ । यसअघि अर्घाखाँची र कपिलवस्तुमा गरिएको सर्वेक्षणमा अर्घाखाँचीमा बाघ क्यामरामा फेला नपरेको कपिलवस्तुमा तीनवटा बाघ फेला परेका थिए ।
सर्वेक्षणमा डिभिजन वन कार्यालयका आठ कर्मचारी, आठ स्थानीय नागरिक र १६ अनुसन्धानकर्ता सम्मिलित आठ टोली बनाइएको थियो । प्रारम्भिक अध्ययनानुसार, ती बाघ बाँके राष्ट्रिय निकुञ्ज वा भारतको सुहेलवा वन्यजन्तु संरक्षण क्षेत्रबाट कम्दी जैविक मार्ग हुँदै ओहोरदोहार गर्ने गरेको अनुमान छ । दाङमा पहिलोपटक बाघको गणना गरिएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख महेन्द्रराज वाग्लेले बताए ।