इन्द्रेणी संवाददाता
दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले संसदका दुई ठूला राजनीतिक दल नेपाली काग्रेस र नेकपा एमाले मिलेपछि सरकार फेरिरहने धन्दाको अन्त्य भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल दाङले बुधबार विहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटनमा महासचिव पोख्रेलले अहिलेको गठबन्धन चुनावी परिणामको बाध्यता भएको समेत बताए । चुनावमा कुनै दलको पनि बहुमत नआएपछि गठबन्धन गर्नुपरेको र त्यसैको परिणाम दुई ठूला दल काग्रेस-एमालेको गठबन्धनपछि सरकार फेरिरहने धन्दाको अन्त्य भएको बताए । उनले अहिलेको गठबन्धन ०८४ सम्म नै जाने पनि दावी गरे ।
पछिल्लो चरणमा मुलुकमा राजनीतिक अस्थिरता कायम गर्न खोज्नेहरू सलबलाइरहेको बताउँदै महासचिव पोख्रेलले राजनीति र समाजमा अस्थिरतामा रमाउने गलत संस्कृति मौलाइरहेकाले यस्तो प्रयासहरु कुनै हालतमा सफल नहुने दावी गरे ।
एमालेमाथि अहिले योजनाबद्ध प्रहार भइरहेको बताउदै उनले भने, ‘दुई ठूला पार्टी एकजुट भएपछि सरकार फेरिरहने धन्दा अन्त्य भएको छ,’ उनले भने, ‘यसको मुख्य पात्र एमाले हो भन्ने बुझेपछि प्रहार सुरु भएको हो ।’
गृह जिल्लामा आएका महासचिव पोख्रेलले घोराही-तुलसीपुर, लमही-घोराही सडक स्तरोन्नति, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरवृद्धि, टरिगाउँ विमानस्थल स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माण लगायतका जिल्लाका योजनाहरू अबको बजेटमा समेटिने बताए ।
