Indrenionline.com

आज केही प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेकाले सबै प्रदेशमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ भने दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने छ। राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने महाशाखाले जनाएको छ।