इन्द्रेणी संवाददाता
दाङ । गएको बैशाख २ गते प्रहरीले घोराहीको दुईखोलीमा दाङबाट छिमेकी जिल्ला रोल्पा जाँदै गरेका सवारी चोक जाँच गर्दा चार जनालाई लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लियो । लागुऔषध वसारपसार हुँदै आएको छ भन्ने गोप्पे सूचना पाएको प्रहरीले चेकजाँचका क्रममा रोल्पा नगरपालिका ८ बस्ने २६ वर्षका रविन घर्ती मगर, २७ वर्षका समिप रोका मगर, २५ वर्षका रिमन पुन मगर र २५ वर्षका विकाश केसी पक्राउ परे ।
उनीहरु सवार रा ४ प ४३५३ नम्बरको मोटरसाइकल र लु.प्र. ०२–००१ नम्बरको स्कुटरमा प्रहरीले चेकजाँच गर्दा ४ ग्राम ६२० मिलिग्राम ब्राउन सुगर र ७४० ट्रामाडोल ट्याव्लेट नियन्त्रणमा लियो । प्रहरीको फन्दामा परेका चारै जना अहिले जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा अनुसन्धानकै क्रममा छन् ।
त्यस्तै बैशाख २३ गते दाङको भालुवाङ्बाट प्यूठान जाँदै गरेको विद्युतीय गाडीमा एक युवतीलाई लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लियो । करिव साँझ पौने ६ बजेतिर प्यूठान जाँदै गरेको भे १ ख ४३३२ नम्बरको गाडीमा सवार २० वर्षीय ती युवतीलाई खानतललासी गर्दा दुई ग्राम ५८० मिलिग्राम ब्राउन सुगर फेला प¥यो । प्यूठान ऐरावती गाउँपालिका २ बह्राखुट्टीकी २० वर्षकी सरिता सार्की पनि अहिले प्रहरीको अनुसन्धानमै छन् ।
यी त प्रतिनिधिमूलक घटना मात्रै हुने । दाङमा करिव दैनिकजसो कहिकतै विभिन्न लागुऔषधसहित व्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्ने काम गरिरहेको छ । बैशाख महिनामा मात्रै जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित १३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । मासिक प्रगति प्रतिवेदन पेश गर्दै शाहले ती व्यक्तिहरुबाट ९ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर र ७६० मनोद्धिप पदार्थ ट्याव्लेट नियन्त्रणमा लिएको बताए । त्यस्तै राप्ती नदीमा अबैधरुपमा नदिजन्य पदार्थ उत्खननमा संलग्न रहेका ९ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर कारवाही गरिएको प्रहरीले बताएका छ । गैरकानुनी रुपमा नदिजन्य पदार्थ उत्खनन्मा संलग्न भएकाले प्रति टेक्टरलाई जनही २० हजार जरिवान गरिएर छोडिएको प्रहरीले जनाएको छ ।
विभिन्न समयको प्रहरीको तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने दाङ लागुऔषध कारोवारको लागि ट्रान्जीट प्वाइट नै भएको देखिन्छ । विशेष गरी युवायुतीहरु लागुऔषधमा कारोवारमा फसेको देखिन्छ भने चरेशलगायतका लागुऔषध महिलाहरु भरियाको रुपमा काम गर्नेहरु पनि प्रहरीको नियन्त्रण पर्ने गरेका छन् ।
प्रहरीको सक्रियताले मात्रै लागुऔषध नियन्त्रण हुन नसक्ने र यसका लागि सबैमा जनचेतनाको आवश्यकता पर्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिना बताउँछन् । ‘प्रहरी सकभर यस्ता घटना कम होउन् र सभ्य सामाजको निर्माणको पक्षमा हुन्छ’, उनले भने, ‘तर यो हामी (प्रहरी) बाट र प्रहरीको सक्रियताले मात्रै सम्भव छैन, सबैमा चेतना जाग्न जरुरी छ ।’’
पछिल्लो समयमा जिल्लामा आत्महत्या, लागुऔषधका घटना बढेका छन् । बैशाख महिनामा मात्रै २१ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । गएको महिनामा १०÷११ वर्षका बालबालिकाले आत्महत्या गरेको प्रशंगमा प्रहरी प्रमुख तिमिल्सिनाले भने, ‘मानिसमा सहनशीलताको अभाव देखिन्छ, तनाव बढी देखिन्छ, यसलाई समयमा व्यवस्थापन गर्न सबै सचेत हुनुपर्ने देखिन्छ ।’
