Indrenionline.com

साढे चार करोड लगानीमा ‘द आर्ट अफ लिभिङ’ आश्रम निर्माण

रुपन्देही । साढे चार करोडको लगानीमा सिद्धार्थनगर नगरपालिका वडा नं. ४ रुपन्देहीमा ‘द आर्ट अफ लिभिङ’ आश्रम निर्माण भएको छ । आश्रमको उद्घाटन मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन् । आश्रम उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले समाजलाई आध्यात्मिक ज्ञान र साधनाको माध्यमबाट सुन्दर बनाउन सकिने बताए ।

लुम्बिनी प्रदेशलाई आध्यात्मिक ज्ञान र साधनाको केन्द्र बनाउन सहकार्यलाई निरन्तरता दिइने बताउदै मुख्यमन्त्री आचार्यले भने, “ज्ञान र साधनाको माध्यमबाट समाजलाई परिवर्तन गर्ने, समाजलाई सत्मार्गमा लैजाने अभियान हो, जुन लक्ष्य र उद्देश्य राखेर यो अभियान थाल्नुभएको छ, त्यसको पूर्ण सफलताको कामना गर्दछु ।”

समाजमा आध्यात्मिक चेतना, मानसिक स्वास्थ्य र सामाजिक सद्भाव विस्तारका लागि यस्ता अभियानहरू उपलब्धिपूर्ण हुने मुख्यमन्त्री आचार्यले बताए । “समाजलाई परिवर्तन गर्न, सत्मार्गमा डोर्याउन यस्ता अभियानहरूले महत्त्वपूर्ण भूमिका खेल्नेछन् । हाम्रो जीवन के हो ? कसरी खुशी हुने ? सुखी कसरी बन्ने ? स्वस्थ कसरी बन्ने ? भन्ने सवालमा यसले ध्यान र ज्ञानका कार्यहरूलाई अगाडि बढाउनेछ”, उनले भने, “यी अभियानहरूमा हाम्रो साथ रहनेछ ।”

आश्रमका संयोजक दिपेन्द्र प्रधानका अनुसार साढे चार करोड रुपैयाँको लागतमा आश्रम निर्माण थालिएको हो । दान संकलन गरेर आश्रमको संरचना निर्माण भइरहेको छ । ७ कठ्ठा जग्गामा फैलिएको यस आश्रमसँगै देशभर यस्ता तीनवटा आश्रम रहेका छन् भने २६ वटा स्थानमा योग केन्द्र रहेका छन । द आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वर कुमार सिंहका अनुसार देशका अन्य प्रदेशहरूमा पनि विस्तार गर्ने योजना रहेको छ ।