काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै भएका बताएका छन् । सदनमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि धारणा राख्दै अध्यक्ष दाहालले नीति तथा कार्यक्रम तयारीलाई कर्मकाण्ड मात्रै बनाइएको बताएका हुन् ।
प्रतिपक्ष दलका प्रमुख समेत रहेका प्रचण्डले गत वर्ष नीति तथा कार्यक्रममाथि लोकतान्त्रिक विधिबाट व्यापक छलफल र बहस गरेर अन्तिम रूप दिन खोजिएको भए पनि यस वर्ष सरकारले उक्त प्रक्रिया भत्काएको आरोप लगाए । आफूले सरकारको नेतृत्व गरेका वेला सांसदका मतहरूलाई समेत ध्यानमा राखेर नीति तथा कार्यक्रमको कर्मकाण्डी परम्परा भत्काउन खोजेको उनले बताए ।
सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा जनप्रतिनिधिहरूका सुझाव समावेश गर्नको लागि पर्याप्त समय उपलब्ध हुने र माननीयहरूको सुझावहरू समेटिएर यो परिमार्जन भई सोहीअनुरूप बजेटमा प्रतिबिम्बित हुनसक्ने कुरामा सरकारले बेवास्ता गरेको प्रचण्डको भनाइ थियो ।
“सरकारले आफ्नो चरित्र देखायो र गत वर्षको प्रावधानलाई खारेज गरियो”उनले भने, “सरकारसँग सङ्ख्याको दम्भ छ, जे गरे पनि हुन्छ भन्ने निरंकुशतावादी चिन्तन छ। त्यही भएर नीति तथा कार्यक्रम र बजेटका बारेमा संसद्मा हुने छलफललाई फेरि कर्मकाण्डी बनाइयो। फेरि एउटा औपचारिकतामा यसलाई प्रस्तुत गरियो। म सच्याउन माग गर्दछु।”
गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुतले आर्थिक वर्ष २०८२ ८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
