Indrenionline.com

संघीयता बलियो बनाउन अन्तरप्रदेश सहकार्य आवश्यक : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयतालाई बलियो बनाउन अन्तरप्रदेशीय समन्वयलाई थप सुदृढ गर्नुपर्ने र सिकाइको आदान प्रदानलाई निरन्तरता दिनुपर्ने बताएका छन्।

मुख्यमन्त्री आचार्य र कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलबीच सोमवार राप्ती उपत्यका देउखुरमा छलफलमा यस्तो बताएका हुन् ।

‘प्रदेश स्थापना भएको आठ वर्षको अवधिमा संघीयतालाई बलियो बनाउने गरी प्रदेश तहबाट उल्लेखनीय कार्यहरू भएका छन् । पूर्वाधार विकास, सामाजिक सुधार तथा मानव पुँजी निर्माणका क्षेत्रमा भएका प्रयासहरू उपलब्धिपूर्ण छन्,’ मुख्यमन्त्री आचार्यले भने, ‘अन्तरप्रदेश समन्वय र सहकार्यले संघीयतालाई थप मजबुत बनाउनेछ ।’

मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश तहबीच कानुन निर्माणदेखि असल अभ्यासहरूको आदान प्रदानलाई सिकाइको माध्यमका रूपमा लिन सकिनेछ ।

कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले लुम्बिनी प्रदेशले कानुन निर्माण, त्यसको प्रभावकारी कार्यान्वयन तथा आफ्नै प्रशासनिक केन्द्र निर्माणमा प्राप्त गरेका सफलताहरू कोशी प्रदेशका लागि सिकाइ हुने उल्लेख गरे । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले प्रदेश तहमा हुने यस्ता सिकाइ आदानप्रदानले भावनात्मक रूपमा पनि प्रदेशहरूलाई नजिक ल्याउने भएकाले यस्ता अभ्यासलाई निरन्तरता दिनुपर्ने बताए ।