काठमाडौं । सिंहदरबारमा आइतबार साँझ गणतन्त्रवादीहरूको सर्वदलीय बैठकले १५ चैतको राजावादी आन्दोलनमा हत्या, आगजनीजस्ता विध्वंसात्मक गतिविधि गराउने मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएको निष्कर्ष निकालेको छ । त्यस दिनको हत्या र आगजनीमा संलग्न दोषीलाई कानुनी कारबाही गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।
पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले ज्ञानेन्द्र शाहले राजाकै हैसियतमा गतिविधि गरिरहेको भन्दै कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखेका थिए । ‘म पनि पूर्वप्रधानमन्त्री हुँ भन्दै ठग्दै हिँडेँ भने कानुनले कारबाही गर्छ । त्यस्तै, अहिले जुन ठगी धन्दा चलाइरहेका छन्, उनलाई (ज्ञानेन्द्र) लाई बयान लिएर आवश्यक कानुनी कारबाही गर्नुपर्छ भन्ने सुझाव दिएको छु ।’
गृहमन्त्री रमेश लेखकले षड्यन्त्रमूलक गतिविधिमा संलग्न दोषी सबैलाई कडा कारबाही गर्नुपर्नेमा सबै दल एकजुट भएको बताए । ‘संविधान, लोकतान्त्रिक गणतन्त्र, समावेशिता उल्ट्याउने, समाप्त गर्ने षड्यन्त्रमूलक गतिवधिको मुख्य जिम्मेवार ज्ञानेन्द्र शाह हुन् भन्नेमा सबै दलको एकमत रह्यो । संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन १५ चैतमा जुन अमानवीय बर्बरतापूर्ण घटना भयो, त्यसप्रति सबै दलले भत्र्सना गर्दै कडाभन्दा कडा कारबाही गर्नुपर्ने सुझाव राख्नुभएको छ,’ उनले भने । गृहमन्त्री लेखकले संविधान र लोकतान्त्रिक गणतन्त्रविरोधी कुनै पनि गतिविधि र षड्यन्त्र सैह्य नहुने भन्दै त्यस्ता क्रियाकलाप गर्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिए ।
प्रधानमन्त्री केपी ओलीको अह्वानमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गएनन् । तर, उनीहरू उपस्थित नभए पनि पार्टीका प्रतिनिधि भने बैठकमा थिए । संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई निम्तो नै थिएन ।
