Indrenionline.com

एक महिनामा ३२ लागुऔषध कारोवारी पक्राउ

इन्द्रेणी संवाददाता
दाङ । लागुऔषध कारोवारका लागि दाङ जिल्ला ट्रान्जिट प्वाइन्ट नै बन्दै गएको छ । प्रयाय दिनहुँजसो प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएकै हुन्छ । प्रहरीको जिल्लामा लागुऔषध कारोवार नियन्त्रण गर्ने अभियान नै छ । ‘जिल्लालाई लागुऔषध कारोवारलाई नियन्त्रण गरेर शान्ति सुरक्षा कायम गर्ने नै हाम्रो लक्ष्य हो’, जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले भने । यति भन्दै गर्दा जिल्लामा कतै लागुऔषध कारोवार गर्ने मालिक (साहुँ) त कतै लागुऔषध ओसारपसार गर्न भरियाहरु प्रहरीले पक्राउ गरेको छ ।

केही दिन अगाडि मात्रै रुकुम पूर्व भूमे गाउँपालिका २ का ६४ वर्षको जुनबहादुर पुनसहित तीन जना २९ किलो ६९४ ग्राम चरेससहित पक्राउ परे । जुनबहादुर यो कारोवारका साहुँ हुने भने अन्य दुई जना भरिया । यसरी नै जिल्ला प्रहरी कार्यालय दाङले एक महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित ३२ जनालाई नियन्त्रणमा लिएको छ । फागुन महिनामा मात्रै जिल्लामा ब्राउन सुगर, चरेस, गाँजा र मनोद्धिपक पदार्थ ट्याब्लेटसहित ३२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सो एक महिनामा ती व्यक्तिहरुबाट १४ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर, एक किलो ६०० ग्राम गाँजा, २९ किलो ६९४ ग्राम चरेस र ७८३ मनोद्धिपक पदार्थ ट्याब्लेट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी शाहले जानकारी दिएका छन् ।

त्यस्तै एक महिनाको प्रगति विवरण सुनाउदै डिएसपी शाहले फागुन महिनामा प्रहरीमा दर्ता भएका विभिन्न उजुरीका आधारमा ११० जनालाई पक्राउ गरिएको छ । र ९ जना फरार नै छन् । फागुनमा विभिन्न ९७ मुद्दा दर्ता भएकोमा २४ वटा फछौवट भएको र ७३ बाँकी रहेका छन् । त्यस्तै सो एक महिनामा विभिन्न शीर्षकबाट ३ लाख ७७ हजार ३०० राजस्व संकलन गरेको पनि प्रहरीले जनाएको छ । महिना दिनको प्रगति विवरण सार्वजनिक गर्न प्रहरीले विहीबार पत्रकार सम्मेलन गरेको थियो ।

३५ फरार प्रतिवादी पक्राउ
यसैबीच तुलसीपुरबाट खटिएको प्रहरीको टोलीले ३५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत दाङबाट विभिन्न मुद्दामा दोषी ठहर भएका ३५ जना प्रतिवादीलाई लुकिछिपी वसेको अवस्थामा पक्राउ गरी प्रहरीले जनाएको छ । पक्राउ पछि फैसला कार्यान्वयनका लागि जिल्ला अदालत दाङमा पठाइएको डिएसपी चक्रबहादुर शाहले जनाएका छन् ।