Indrenionline.com

लोकतन्त्रभित्र आफ्नो ठाउँ खोज्न राजावादीलाई प्रचण्डको आग्रह

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीलाई लोकतन्त्र भित्र आफ्नो ठाउँ खोज्न सुझाव दिएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘‘लोकतन्त्र जति प्रचण्डको हो त्यत्ति नै व्यक्ति ज्ञानेन्द्रको हो भन्ने मान्यता हामी सबै राजनीतिक दलले राखेका छौँ, ‘‘राजावादीलाई मेरो आग्रह छ लोकतन्त्र भित्र आफ्नो ठाउँ खोज्नुहोस्।’’

राजावादी सक्रिय हुनुको पछाडि सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष रहेको टिप्पणी समेत प्रचण्डले गरे । उनले राजावादी सक्रिय हुनुको पछाडि संगठित प्रयास रहेको आशंका व्यक्त गरेका हुन् । उनले व्यवस्था उल्ट्याउनका लागि देशभित्र र देशबाहिरका चलखेल समेत मिसिएको बताए। प्रचण्डले नेपालमा शान्ति प्रक्रिया मात्र नभई गणतन्त्रणको इतिहास समेत मौलिक र उदार रहेको बताए ।

‘‘राजावादीका पछि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ। यसमा देशभित्र र देश बाहिरका चलखेल पनि मिसिएका छन्। तर यस खालका चलखेल आजमात्र भएका होइनन्। नेपालमा यस्ता खालका चलखेल हिजो पनि थिए, अस्ति पनि थिए। तर अहिले किन वृद्धि भयो मुख्यतः प्रश्न यहाँनिर रहेको छ’’, उनले भने । पूर्व राजाको सुरक्षासहित ल्याइएको गणतन्त्रमाथि प्रहार गर्न खोजिए अबको क्रान्ति निकै निर्मम हुने समेत चेतावनी दिए ।