Indrenionline.com

म्याद सकिएको २० महिनासम्म पनि बन्न नसकेको पुल

कालीकोट। कालीकोटको महावै गाउँपालिका जोड्ने तिला नदीमाथिको पक्की पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम सुरु नै नगरी पटक पटक म्याद थप र भुक्तानी मात्र माग्ने गरेको पाइएको छ । आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता भएको पुल निर्माणको डिजाइन प्रतिवेदनसमेत अझै पूरा नगरेको महादेव खिम्ती निर्माण सेवा प्रालिविरुद्ध महावै गाउँपालिका कानुनी प्रव्रिmयामा गएको छ ।

काठमाडौँको महाराजगन्जमा रहेको निर्माण कम्पनी निर्माण स्थलमै नआई सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टर नं. ५ सुर्खेतलाई विभिन्न मितिमा पत्र लेख्दै पुल निर्माणमा विविध समस्या देखाएका कारण काम गर्न नसकिएको भनेर झुटा सूचना दिँदै आएको छ ।

कहिले अवरोध भएको, कहिले बर्सातले काम गर्न नदिएको जस्ता समस्या देखाउने उक्त कम्पनीले पछिल्लो समय गत माघ १० गते फेरि म्याद थप र भुक्तानी माग गर्दै पत्राचार गरेको छ ।

सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टर नं. ५ सुर्खेतले निर्माण कम्पनीको पत्रको जवाफ लेख्दै हालसम्म पुल निर्माण साइटको भौतिक प्रगति कुनै पनि नभएको, यसअघि म्याद थप सम्बन्धमा कुनै निवेदन वा कागजात प्राप्त हुन नआएको, म्याद थपको कुनै फाइल पेस गरेको भए म्याद थप भएरनभएको पनि यस आयोजना कार्यालयलाई कुनै पनि जानकारी प्राप्त नभएकाले तपाईंको माग आकर्षित नहुने भन्दै निर्माण कम्पनीलाई पत्राचार गरेको छ । निर्माण कम्पनीले कहिले जग्गाधनीले काम गर्न नदिएको त कहिले बर्सातले समस्या पारेकोलगायतका बहाना गर्दै आएको छ तर पुल निर्माण स्थानमा कुनै पनि अवरोध नभएको लिखित जानकारी महावै गाउँपालिका र स्थानीयले गराएपछि अहिले अर्को बहाना बनाएको गाउँपालिकाको भनाइ छ ।

महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले निर्माण कम्पनीको बदमासीले आफू आजित भइसकेको बताए । “कहिले जिल्ला प्रशासन, कहिले पुल महाशाखा, कहिले मन्त्रालय धाउँदै हैरान भइएको छ । महादेव खिम्ती नामको निर्माण कम्पनीले काम अझै सुरु गरेको छैन तर कार्यालयमा भुक्तानी माग्ने, म्याद थप्नेलगायतका काम जारी राखेको छ । यस्तो कम्पनीलाई सधैँका लागि कालो सूचीमा राख्न

किन नसकेको होला ? ” अध्यक्ष सिंहको भनाइ छ । अध्यक्ष सिंहले यही १५ गते बिहीबार निर्माण कम्पनीलाई पत्र लेखेर काम सुरु अझै नभएकाले कहिले हुने हो ? जानकारी दिन अनुरोध गर्नुभएको छ ।

उनले निर्माण कम्पनीलाई लेखेको पत्रमा भनिएको छ, “निर्माण व्यवसायीको छाता सङ्गठन निर्माण व्यवसायी सङ्घको अध्यक्षको जिम्मेवारबाट (भएको) यस्ता गैरजिम्मेवार कामले सिङ्गो राष्ट्र निर्माणमा गम्भीर धक्का लागेको छ ।”

महावै गाउँपालिका जोड्ने तिला नदीको पान्तडीमा चार वर्षसम्म पुल निर्माण कार्यको सुरुवात नभएपछि गाउँपालिका कानुनी प्रक्रियामा गएको हो । आर्थिक वर्ष २०७७/७८ मा ठेक्का भएर २०७७ साल चैतमा ठेक्का सम्झौता भए पनि अहिलेसम्म काम सुरु नभएपछि गाउँपालिका जिल्ला प्रशासन कार्यालय पुगेको हो । पक्की पुल निर्माण गरिसक्ने समय सकिएको पनि २१ महिना बितिसकेको छ तर काम सुरुसम्म भएको छैन ।

पुल महाशाखा काठमाडौँले ठेक्का लगाएको यो पुल २०७७ साल चैत १२ गते महादेव खिम्ती निर्माण सेवा काठमाडौँले आठ करोड ३९ लाख लागतमा निर्माण सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा २०८० असार १२ गते पुल निर्माण गरिसक्ने उल्लेख छ । पुल बनाइसक्ने समय सकिएको २० महिनासम्म पनि पुल बनाउने स्थलसम्म निर्माण कम्पनी पुगेको छैन ।

पुल सेक्टर नं. ५ सुर्खेतका इन्जिनियर शुभम् वैश्यका अनुसार पुल निर्माणका लागि निर्माण कम्पनीले आफैँ डिजाइन गर्नुपर्ने र उसले समयमा त्यो काम नगरेकाले बन्न ढिलाइ भएको बताए आजको गोरखापत्रमा खबर छ। निर्माण कम्पनी महादेव खिम्ती निर्माण सेवा काठमाडौँका सञ्चालक प्रदीप पुडासैनीले पुल निर्माणका विषयमा आफूलाई खासै जानकारी नभएको र अर्को रवि सिंह भन्ने प्रतिनिधिलाई आफूले जिम्मा दिएको जानकारी दिए । रवि सिंहको मो. ९८५१०३६०१४ मा पटक पटक फोन गर्दा फोन उठ्दैन ।