Indrenionline.com

लुम्बिनीमा ‘मेरो विद्यालय-मेरो दायित्व’ अभियान शुभारम्भ

अर्घाखाँची । लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गरेका छन् । सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु गरिएको छ ।

पूर्व विद्यार्थीको तर्फबाट मुख्यमन्त्री आचार्यले बुवा(आमाको स्मृतिमा एक लाख ११ हजार एक सय ११ रुपैयाँको टिकाराम तारादेवी अक्षयकोष स्थापना गरे । यो अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमबाट दलित जेहन्दार विद्यार्थीलाई बार्षिक रुपमा पुरस्कृत गरिनेछ ।

‘यस्तै मेरो विद्यालय मेरो दायित्व अभियानको कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गर्दै अभियानको सुभारम्भ गरेका हुन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन जरुरी छ । यो अभियानमा पूर्व विद्यार्थीहरुको अतुलनीय र रचनात्मक योगदानको खाँचो छ’, मुख्यमन्त्री आचार्यले भने, सामुदायिय विद्यालयलाइ नमुना बनाउनको लागि यो अभियान कोशेढुंगा सावित हुने छ ।’

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको मनोबल उच्च बनाउन मेरो विद्यालय मेरो दायित्व अभियानले सहयोग पुर्‍याउने बताए । ‘सामुदायिक विद्यालय धेरै व्यक्तित्व जन्माएको छ । धेरै छलफल गरेर पढेको विद्यालय प्रतिको दायित्व के हुने भनेर चालू आवको नीति तथा कार्यक्रममा समावेश गरेर राख्यौं । अब नियमित रुपमा अभियान चल्छ । प्रदेश सरकारले अभियान अगाडि बढाउने छ’ आचार्यले भने, ‘स्वदेश तथा विदेशमा रहनु भएका पूर्व विद्यार्थिले शैक्षिक र भौतिक सुधारको लागि आजको दिनले ढोका खोलेको छ । जिम्मेवारीको वोध गराउन अभियान थालिएको हो । पैसा नहुन सक्छ तर, सिप, ज्ञान र अनुभवलाई साटासाट गर्न सकिन्छ ।’ यो विद्यालयमा मुख्यमन्त्री आचार्यले आधारभुत तहको शिक्षा आर्जन गर्नु गरेका थिए ।

प्रदेश भित्रका एकसाथ १७ वटा विद्यालयबाट अभियानको सुभारम्भ गरिएको हो । ७१ प्रतिशत बालबालिकाको रोजाइ बन्न सफल सामुदायिक विद्याल प्रति अझै भरोसा र विश्वास बढाउन आवश्यक रहेको भनाइ मुख्यमन्त्री आचार्यको छ ।

सार्वजनिक बिद्यालको शाख र गरिमालाई कायम गर्न सबै सरोकारवालाको सामुदायिक विद्यालय प्रतिको जवाफदेहीता वृद्दि गर्न प्रदेश सरकारको नीति कार्यक्रममा मेरो विद्यालय मेरो दायित्व सामाजिक अभियान समावेश थियो ।

यो अभियानमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने लक्ष्य राखिएको छ । गत वर्ष एसईईको नतिजा कमजोर आएपछि सुधारका लागि थालिएको यो अभियानले विद्यार्थीमा गुणस्तरीय सिकाइ अभिबृद्धि गर्न पूर्वविद्यार्थीको योगदानलाई समेट्ने विश्वास गरिएको छ । आफूले पढेको विद्यालयका बारेमा जानकारी लिन, पूर्व र वर्तमान विद्यार्थीबीच अन्तरक्रियागरी शैक्षिक अवस्था सुधार्न यो अभियान प्रभावकारी हुने विश्वास लिइएको छ ।

प्रदेशमा ६ हजार तीन सय ४० विद्यालय छन् । जसमध्ये चार हजार पाँचसय ३१ सामुदायिक विद्यालय छन् । यी विद्यालयमा अध्ययनरत १२ लाख ८८ हजार दुई सय ९८ विद्यार्थीमध्ये नौ लाख २५ हजार छ सय २९ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । माध्यमिक शिक्षा परीक्षाको नतिजाले लुम्बिनी प्रदेशमा सुधारको आवश्यकता देखाए अनुसार अभियान थालिएको हो ।

२०८० को एसईई परीक्षामा सहभागी ८० हजार दुई सय २७ विद्यार्थीमध्ये ३१ हजार एक सय तीनजना मात्र ग्रेडेड हुन सफल भएका थिए, जसअनुसार नतिजा ३८.७२ प्रतिशत मात्र रहेको छ । राष्ट्रिय औसत ४७.८७ प्रतिशत हुँदा लुम्बिनी प्रदेशको नतिजा कमजोर देखिएको छ । सामुदायिक विद्यालयमा झनै कमजोर अवस्था रहेको छ । प्रदेशमा चार हजार पाँच सय ३१ सामुदायिक विद्यालयमध्ये दुई हजार ६५ विद्यालयमा विद्यार्थी संख्या १०० भन्दा कम छ । यी विद्यालयको संख्या कुल विद्यालय संख्याको ४५.५७ प्रतिशत हो । विगतमा समुदायले अपनत्व लिई सञ्चालित विद्यालयमा आज त्यही समुदायको संलग्नता कमजोर बन्दै गएको छ ।