Indrenionline.com

म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित एक म म पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजेको समयमा सिलिण्डर विष्फोट भएको हो ।

घाइते १४ जनामध्ये ११ जनालाई अस्पताल लगिएको छ । तीन जनाको अवस्था भने सामान्य रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

त्यहाँस्थित सानदार म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेका छन् ।

घाइतेमध्ये उदयपुरका २४ वर्षीय संजोग मगरको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ । सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ ।