Indrenionline.com

आजदेखि संसद्को हिउँदे अधिवेशन शुरू हुँदै, विपक्ष दल अध्यादेश अस्वीकृत बनाउने कसरतमा

काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा तय गरिएको छ ।

यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ । यो अधिवेशनमा सरकारले झण्डै ३० विधेयक संसद्मा लैजाने तयारी गरेको छ । यसअघि नै दर्ता भएका २३ विधेयक संसद्मा विचाराधीन छन् ।

हालै सरकारले जारी गरेका ६ वटा अध्यादेश पनि संसद् बैठकको पहिलो दिनमै दर्ता हुँदैछन् । सरकारले विभिन्न विधेयक संसदमा लैजाने तयारी गरिरहेका वेला विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने भएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले अध्यादेश स्वीकार नगर्ने निर्णय समेत गरिसकेको छ । यसैले यो अधिवेशन अलि पेचिलो बन्ने संकेत देखिएको छ ।