Indrenionline.com

प्रचण्डलाई शुभकामना दिँदै बाबुरामले भने – ” प्रत्यक्ष कार्यकारी राष्ट्रपतीको पहल गर्नुस् ”  

इन्द्रेणी संवाददाता 

दाङ, १६  साउन । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रधानमन्त्री बन्न लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शुभकामना दिनुभएको छ । शुभकामना दिँदै भट्टराईले भन्नुभयो ‘संविधान संसोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रिपति हुने प्रणालीमा जानका लागि पहल गर्नुस् ।’

नेपाल पत्रकार महासंघ दाङले आइतवार बिहान घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रतक्ष्य कार्यकारी राष्ट्रपतिको आवश्यक रहेको बताउनुभयो । त्यस्तै उहाँले संविधानप्रति असन्तुष्टहरुको माग पुरा गरी तीन वटै चुनाव एकै पटक गर्नुपर्ने बताउनुभएको छ । समय र खर्चका हिसाबले पनि प्रदेश, संघ र स्थानीय निकायको निर्वाचन एकै पटक गर्नुपर्ने बताउनुभयो ।

 अबको डेढ बर्षभित्र तीनवटैै चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता रहेको अवस्थामा संविधानप्रति असन्तुष्टहरुको माग पुरा गरेर एकैपटक तीन वटा चुनाव गराउँदा देशलाई फाइदा हुने भट्टराइको भनाई छ । पटकपटक सरकार फेरबदल हुने खेल नयाँ संविधानपछि अन्त्य हुन्छ कि भन्ने जनताको अपेक्षा फेरि पनि उस्तै भएको भन्दै उहाँले संविधानको संसोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति आउने ब्यवस्था नभएसम्म उस्तै हुने दाबी गर्नुभयो ।