कृष्णदेव थापा
मलेसियामा भईरहेको अन्डर १९ महिला क्रिकेट वल्र्ड कपमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । आफ्नो पहिलो वल्र्ड कप खेलिरहेको नेपाल महिला टिमले वल्र्ड कपमा आफ्नो पहिलो ऐतिहासिक जित निकालेको छ ।
नेपालले मलेसियालाई ब्याटिङ्गको निम्तो दिई १६.५ ओभरमा नै पूरा टिमलाई ४५ रनमा समेटेको थियो । मलेसियालाई सस्तो रनमा समेट्नको लागि नेपालको तर्फबाट कप्तान पुजा महतोले कसिलो बलिङ्ग गर्दै ३.५ ओभरमा ९ रन खर्चेर ४ विकेट लिएकी थिन् । यस्तै रचना चौधरीले ३ र रिया शर्माले १ विकेट लिएका थिए ।
जवाफमा नेपालले १३.३ ओभरमा नै ३ विकेट गुमाई सजिलै लक्ष्य पूरा गरेको थियो । पुजा महतोले ४ चौका प्रहार गरि अवजित २३ रनको कप्तानी पारी खेलेकी थिइन । खेलमा २३ रन र ४ विकेट लिएकी पुजा महतो म्यान अफ दि म्याच घोषित भएकी छिन् ।
समुह डि मा रहेको नेपालले आफ्नो पहिलो तिन खेलमा अष्टे«लिया, बंगलादेश र स्कटल्याण्ड सँग पराजित भएको थियो ।
