Indrenionline.com

वर्तमान सरकार ‘कहर’ को सरकार : प्रचण्ड

इन्द्रेणी संवाददाता
दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले केही फरार अभियुक्तहरूलाई गिरफतार गरेपछि एमाले र कांग्रेसको नेतृत्वमा पैदा भएको डरका कारण वर्तमान सरकार बनेको बताएका छन् ।

आज शुक्रवार दाङको तुलसीपुरमा आयोजना गरिएको माओवादी केन्द्रको नगर अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सामान्यतया लोकतन्त्रमा कहीँ कतैपनि सदनका पहिलो र दोस्रो दल मिलेर सरकार नबनाइने भन्दै उनले यसलाई नेपालमा भएको गाइजात्राको संज्ञा दिए ।

‘संसारमा कहीँ नहुने हाम्रो नेपालमा पनि कहीँ नहुने जात्रा हाँडिगाउँमा भन्याजस्तो सदनमा भएको पहिलो र दोस्रो पार्टीको सामान्यतया संसदीय लोकतन्त्रमा मिल्ने गर्दैनन् मिल्दैनन् । चाहे अमेरिकामा होस्, चाहे युरोपमा होस, चाहे भारतमा हिन्दुस्थानमा कहिपनि पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनेको देख्दैनौं र बनाउदैनन् पनि… । तर, त्यो गाइजात्रा नेपालमै भयो, माओवादी नेतृत्वको सरकारका विरुद्ध भयो’, उनले भने, ‘त्यो लोकतन्त्रको मर्मविपरित भयो, यो सरकार जो गठन भयो, यो सरकार बन्नुको कारण कहर हो, एमाले नेतृत्व र कांग्रेस नेतृत्वभित्र पैदा भएको डर हो, अब हाम्रो पालो आयो भन्ने देखे उनीहरुले, हामीले केही फरार अभियुक्तहरूलाई गिरफतार गर्ने वित्तिकै अबको पालो मेरो भन्नेमा पुगेपछि उनीहरु लोकतन्त्रका विरुद्ध, जनताका विरुद्ध र संविधानका विरुद्ध गठबन्धन गर्न पुगे ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफू नेतृत्वको सरकारले सुशासनका पक्षमा काम गर्दै जाँदा यहाँका दलाल पूँजीपति, सामान्तहरु, मिटरव्याजे पिडकहरु सबैलाई माओवादी नेतृत्वको सरकार सैय नभएका कारण पनि आफूहरु सरकारबाट बाहिरिनुपर्ने आशय व्यक्त गरे । आफू सरकारमा भएका बेला भएका कामको प्रशंसा र अहिलेको सरकारप्रतिको टिप्पनी गर्दै आफ्नो सम्बाधनको अन्तिममा माओवादीले अबको चुनावमा बहुमतको ठूलो दल बनाउन आग्रह गरे । आफूले विगतका कमी कमजोरी सच्याउदै जनताको पक्षमा काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले विगतको आफूहरुको कमीकमजोरीलाई अभिभावकले आफ्ना छोराछोरीलाई दिएको माफिजस्तै ठानेर सच्याउने मौका दिन आग्रह गर्दै २०६४ को जस्तै अबको चुनावमा पनि बहुमत पाए अझ सुशासन, सामाजिक न्याय र मूलकको आर्थिक विकासको पक्षमा काम गर्ने बताए ।