दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रको सवलिकरणका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर सञ्चार ऐनलाई संशोधन गर्ने प्रक्रिया अघि बढाएको बताएका छन् ।
उत्तरदायी र व्यवसायिक पत्रकारितालाई जोड दिदै मुख्यमन्त्री आचार्यले पछिल्लो समय देखिएका विकृती, विसंगती अन्त्यका लागि स्वयंम पत्रकारिता क्षेत्र सजग र चनाखो हुनुपर्ने धारणा राखे । ‘मर्यादित र व्यवसायिक पत्रकारिता आजको आवश्यकता हो । तर, केही विकृति, विसंगती भित्रिएका छन् । त्यसलाई निर्मुल पार्न जरुरी छ’ आचार्यले भने,–‘प्रदेश सरकार पत्रकारहरुको हकहित सुनिश्चित गर्न दृढ र प्रतिबद्ध छ ।’ आम सञ्चार माध्यमको विकासको लागि प्रदेश सरकारले साझा नीति अवलम्बन गरेको, सबै क्षेत्रको सन्तुलित विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।‘सबै मिडियाको सुरक्षाको लागि सरकारले ध्यान दिएको छ । विज्ञापनहरुलाई एकीकृत रुपमा वितरण गर्ने गरी नीतिगत सुधार गर्ने योजनामा छौं’ उनले भने,‘प्रदेश भित्रका सबै सञ्चार माध्यम र पत्रकारहरुलाई साझा रुपमा सम्वोधन गर्ने नीति प्रदेशको छ ।’ हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्नेगरी क्रियाशील हुन आह्वान समेत गरे ।
प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नेकपा एमाले दाङ प्रचार विभाग प्रमुख संगित बस्याल लगायतले उत्तरदायित्व सहितको स्वतन्त्र पत्रकारितालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले नीतिगत सुधार गरेर जान आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रमको सहजिकरण चौतारी दाङका सचिव किरण गौतमले गरेका थिए ।
