Indrenionline.com

एमालेबाट निष्कासित रावलले “मातृभूमि जागरण अभियान” चलाउने

काठमाडौँ । पार्टीको हितविपरित काम गरेको भन्दै नेकपा एमालेले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपछि डा. भीम रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने रावलले बताएका छन् । ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य आवश्यक छ । यसैका निम्ति हाम्रो पाइला अघि बढ्ने छ’, उनले भने । मातृभूमि जागरण अभियान राष्ट्रव्यापी अभियान चलाइने छ ।

यही पुस १० गते बसेको नेकपा एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।  रावलले एमाले अध्यक्ष ओलीले निरङ्कुश र अन्यायपूर्ण किसिमले आफ्नो पार्टी सदस्यता खाइदिएको आरोप लगाए । पत्रकार सम्मेलनमा उनले लामै प्रतिवेदन सुनाउदै एमाले अध्यक्ष ओलीमाथि प्रश्नै प्रश्न गरेका थिए ।