सुर्खेत। कर्णाली र लुम्बिनी प्रदेश सरकारबिच अन्तर प्रदेश विकास र समृद्धिका लागि १९ बुँदे साझा समझदारी भएको छ । आज शुक्रबार कर्णाली सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलपछि १९ बुँदे साझा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
उक्त समझदारी पत्रमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले संयुक्तरूपमा हस्ताक्षर गरेका छन् । दुई प्रदेशबिच भएको समझदारीमा अन्तर–प्रदेश आवद्ध भएका महत्वपूर्ण सडक पूर्वाधारहरु प्राथमिकतामा राखिने भएको छ ।
कर्णाली र लुम्बिनी जोडिने पाँच वटा रणनैतिक महत्वका सडक पूर्वाधारहरु निर्माण गर्न आवश्यकता अनुसार नेपाल सरकारसँग समन्वय गरी साझेदारी र सहकार्य गर्ने समझदारी भएको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताए। जसमा जमुनाह–हिल्सा सडक, सुर्खेत–तेलपानी–भुरीगाउँ सडक, राप्ती लोकमार्ग निर्माण, कोहलपुर–सुर्खेत सडक विस्तार, कोहलपुर–बबई तथा बबई–छिन्चु सुरूडमार्ग सम्भाव्यता अध्ययनलाई दबै सरकारले प्राथमिकतामा राख्ने भएका छन् ।
त्यसैगरी कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने समदारीसमेत भएको छ । लुम्बिनीमा आउने धार्मिक पर्यटकहरूलाई कर्णालीको साहसिक पर्यटकीय गन्तव्यसम्म जोड्ने गरी एकीकृत पर्यटन मार्ग निर्माण गर्न गुरुयोजना तयारी र लगानीमा सहकार्य गरी दुवै प्रदेशका पर्यटकीय क्षेत्रलाई जोडेर संयुक्त पर्यटन प्याकेज निर्माणका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्ने समझदारी दुई प्रदेश बिच भएको छ ।
