रुपन्देही, ६ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासको लागि बौद्ध सर्किट र लुम्बिनी सर्किटको विकास गरिने बताएका छन् । रुपन्देहीको देवदहमा गौतमबुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सवको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किटमा जोड्ने र सिंगो प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्नेगरी सरकारले अवधारणा अघि सारेको बताए ।
प्रदेश सरकारले बृहत लुम्बिनी पर्यटन सर्किटको अवधारणालाई समेत प्राथमिकतामा राखेको छ । तीन जिल्लालाई बौद्ध सर्किट र सिंगो प्रदेशलाई लुम्बिनी सर्किटको आधारमा विकास गरिने मुख्यमन्त्री आचार्यले बताए । ‘प्रदेश सरकारले बौद्ध सर्किटको गुरुयोजना बनाउछ । तिलौराकोट देखी नवलपरासीको रामग्राम सम्मका सम्पदाहरुलाई जोड्नेगरी पर्यटन पूर्वाधार निर्माण गरिन्छ’ उनले भने, ‘लुम्बिनी आउने पर्यटकलाई एक अर्कासंग जोड्नेगरी यो अवधारणा हामिले अघि सारेका हौं । बृहत रुपमा लुम्बिनी सर्किटको अवधारणा छ ।’
पर्यटकीय स्थलहरुलाई नवीतम रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षीत गर्नेगरी अघि बढाउन आवश्यक रहेको भनाई उनको छ । पार्कहरुमा सिमेन्टबाट बन्ने संरचनालाई निरुत्साहित गर्दै स्थानीय काठ तथा सामाग्रीको प्रयोग गरेर कलात्मक आकृती तथा पर्यटन पूर्वाधार निर्माण गरिनुपर्ने बताए ।‘यहाँको पार्कमा जुन कलात्मक सृजना देखियो । अन्य पार्कहरुमा पनि यहाँको सिकाई हस्तान्तरण गर्न जरुरी छ । हाम्रा पार्कहरुमा संक्रिट मोह बढ्दै गएका छन् । त्यसलाई निरुत्साहित गर्न जरुरी छ’ मुख्यमन्त्री आचार्यले भने, ‘काठ र स्थानीय सामाग्रीको प्रयोग गरेर आकृती बनाउन जरुरी छ । यसमा प्रदेश सरकारले पनि पहल लिन्छ ।’
प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर नीति निर्माण देखी कार्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा लगेको मुख्यमन्त्री आचार्यले जानकारी दिए । बर्दियमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षीत गर्न घुम्न जाउँ बर्दिया अभियान सञ्चालन गरेको बताउदै अव देवदहमा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षीत गर्न प्रचारप्रसार अभियानलाई तिब्र पार्न आह्वान गरे ।
