Indrenionline.com

सर्वोच्चद्वारा एमालेलाई दान दिएको जग्गाविरुद्धको रिट खारेज

काठमाडौं । नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले दान गरेको जग्गा र त्यसमा निर्माण हुने भवनविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

न्यायाधीश अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले आज रिट खारेज गरिदिएको हो । रिट खारेज भएसँगै एमालेलाई दानको जग्गामा पार्टी कार्यालयको भवन बनाउने काम अघि बढाउन बाटो खुलेको छ ।

यसअघि गएको कात्तिक १२ गते रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले रिटमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरी छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो ।

गुरुङ दम्पतीले एमालेको केन्द्रीय कार्यालय भवन बनाउन जग्गा दान दिएपछि अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।