Indrenionline.com

दार्चुला जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या आठ पुग्यो (मृतकको नामसहित)

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ६ को बकजेबलामा आज विहान भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्‍याइएका थप दुई जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

सबै मृतकको सनाखत भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा भारतीय नागरिक ४५ वर्षीय मोहम्मद सफीर, १८ वर्षीय मोहम्मद बसिर, शैल्यशिखर नगरपालिका ९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर ५ बस्ने ४० वर्षीया मीना लेखक छन् ।

यस्तै बैतडीको डिलासैनी गाउँपालिका ५ नगराउँका १५ वर्षीय सुदिप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको छ । दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका ८ पस्तीका ३० वर्षीय सुनिल जोशी सहितका ५ जना घाइते छन् ।आज मालिकार्जुन धामबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको थियो ।