काठमाडौँ । ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) कारागार चलान भएका छन् । उनलाई आजै डिल्लीबजार कारागार चलान गरिएको हो ।
मङ्गलबार काठमाडौँको सानोभर्याङबाट पक्राउ परेका मनाङेलाई सीआईबीले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । लगत्तै अदालतले मनाङेलाई केन्द्रीय कारागार पठाएको हो ।
मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो । उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैदको फैसला सुनाएको थियो ।
