Indrenionline.com

काठमाडौं क्षमता हुनेहरुका लागि खुला मञ्च हो – मजगैंया

shashi 1
शशि शर्मा मजगैंया ( अध्यक्ष रापती समाज काठमाडौं )

आज भोली के गर्दै हुनुहुन्छ ?

म साहित्यको विद्यार्थी हुँ,साहित्य साधना मेरो आजिवन पेशा हो । साहित्य अध्ययन र लेखनमा मेरो अधिकतम समय बित्छ । कला,साहित्य र संगीतको संरक्षण ,संबर्धनका लागि र समाज सेवाका लागि विभिन्न संघ संस्थामा नेतृत्वदायी भुमीकामा रहि क्रियाशिल छु । एन.जि.ओ कर्म मेरो अर्को पेशाहो,त्यहाँको नियमित कार्य सम्पादनमा पनि ब्यस्त रहन्छु । अध्ययन,अनुसन्धान र सञ्चार क्षेत्रमा क्रियाशिल आफ्नै कम्पनिको मुख्य जिम्मेवारीलाई पनि निभाइरहेकोछु साथै रेडियो कर्मको यात्रा पनि निरन्तर चलिरहेको छ ।

यी सब कामहरुका लागि समय कसरी व्यवस्थापन गर्नुहुन्छ  ?
हुन त समय कसैको बसमा हुँदैन भनिन्छ,अनवरत चलिरहेको समयको गतिलाई कसैले प्रभावित गराउन त सक्दैन त्यो सत्य हो, तर गतिशिल समयसंगै हामीले हाम्रो ईच्छा शक्तिको गतिलाई  निर्धारण गर्न सक्यौं भने सायद धेरै कुराहरु सम्भव हुँदारहेछन  । समयका हरेक प्रहरहरु लाई उपयोगी बनाउन सकियो भने र अनुशासीत भएर आफ्नो जिम्मेवारी वहन गरियो भने समय व्यवस्थापनआफै हुँदो रहेछ । म अलीकवर्क एडिक्ट पनिछु,जिम्मेवारीमाआएको कुनै पनि काम नसकिदा सम्म छटपटि भईरहन्छ । अर्को कुरा जिन्दगीलाई सिस्टममा राख्ने प्रयास पनि गरिरहन्छु,सायद त्यहि सिस्टमले समयको व्यवस्थापन गर्छ ।

समाज सेवाका कामहरुमा बढि क्रियाशिल हुनुहुन्छ,के का लागि समाज सेवा गर्नुहुन्छ  ?
मेरो आमाले भनेको कुरा सधैं सम्झिरहन्छु, ‘बाबु हरेक प्राणीको मन भित्र भगवानको वास हुन्छ,दुख पाएका हरु कसैलाई खुसी बनाउन सक्यौ भने भगवान खुसी हुनुहुन्छ अनि आफसे आफ जिन्दगी सुखि हुन्छ,त्यसैले सधै सहयोगी बन्नु ।’ यसर्थ समाजसेवा मेरो धर्म हो, पुण्य कमाउनका लागि गर्छु समाज सेवा । कसैको कल्याण गरियो भने, कसैको उद्धार गरियो भने, कसैको पीडामा मल्हम लगाउन पाएँ भने त्यो दिन आनन्दको निद्रा पर्छ । यहि सन्तुष्टिका लागि समाजसेवा गर्छु मैले ।

मोफसलमा बस्नेहरु राजधानीलाई कठोर शहरका रुपमा लिन्छन्, जहाँ थुपै्र अप्ठ्याराहरु छन् भनिन्छ तर तपाई छोटो समयमै स्थापित हुनुभयो,त्यो कसरी सम्भव भयो  ?
राजधानी त्यस्तो हाउगुजी होइन , जहाँ अफ्ठ्याराहरु मात्र होऊन् । काठमाडौं क्षमता हुनेहरुका लागि खुला मञ्च हो, यहाँ जति चुनौतिहरु छन्, त्यति नै बढी सम्भावनाहरु पनि । मलाई स्थापित भएको जस्तो देख्नु तपाईहरुको महानता हो,त्यो तपाईहरुको माया हो । म त अझै विद्यार्थी  छु । क्षमतालाई निखारेर चुनौतीहरु लाई चिर्दै सम्भावनाको मुल खोजिरहने जिन्दगीको अतृप्तयात्री हुँ म । नियमीत शिक्षातर्फ अंग्रेजी  साहित्यबाट स्नातकोत्तर सकेर हाल कानुनमा स्नातक गरिहेको छु । क्याम्पसको झोला मेरो पिठ्युबाट अझै छुटेको छैन । संगीत साहित्यका केहि कृतिहरु प्रकाशीत गरें,केहिले चर्चा पाए केहि गुमनाम भए । यसर्थ यहाँ पनि म सिकारु नै छु । तर भोली कसरी सफल हुने र स्थापीत हुने भन्नेतर्फ चाहिँ केन्द्रित छु ।

कलाका सबै क्षेत्रमा हात हाले पनि तपाई आफैलाई आफ्नो दख्खल कुन क्षेत्रमा राम्रो छ जस्तो लाग्छ  ?
मैले केही कथा, कवितामा कलम चलाए पनि मेरो परिचय त्यतापट्टि पक्कै छैन । म साहित्य र संगीतमा यदि चिनिएको छु भने गजलकारको परिचयबाट चिनिएको छु र मेरा केही गीतहरुले गीतकार पनि बनाइ दिएका छन् । सायद त्यसैको उपलब्धि होला नेपाली संगीतकर्मीहरुको जेठो संस्था नेपाल सांगीतिक संघको गरिमामय उपाध्यक्षको जिम्मेवारी वहन गर्ने अवसर प्राप्त गरेको छु । गजल,गीत मेरा रुचिका विधा हुन,यसर्थ म यिनै विधामा अली दख्खल राख्दछु ।

दाङलाई कला,साहित्यको उर्वर भुमीको रुपमा लिइन्छ । यहाँका कलाकार,साहित्यकार केन्द्रिय तहमा स्थापितहुन सफल पनि भएका छन् । यद्यपी अझै पनि त्यसरी स्थापीतहुन कैयन तगाराहरु छन् भन्ने सुनिन्छ,तपाईको मुल्याङ्कन के छ ?
अवश्यपनि दाङ कला साहित्यमा धेरै उर्वर छ । दाङमा जन्मिएर राजधानीलाई कर्मथलो बनाएर साधनागर्ने थुप्रै श्रष्टा,कलाकारहरु स्थापीत हुनुभएको छ । दोहोरी सम्राट नारायण पाण्डेले देखाएको बाटोमा कोमल ओली, सिन्धु मल्ल, चन्द्र शर्मा संगै पछिल्लो पुस्ताका मेक्सम खाती, तीलकओली, सिर्जु अधिकारी राजधानी आएर स्थापीत हुनुभयो । चन्द्रकला शाह,मधुबाबु थापा संगै शिशिर योगी,सन्तोष श्रेष्ठ देखि लीएर पछिल्लो पुस्ताका विन्दु परियार, सुधा रत्नपनि स्थापीतहुनुभयो । अर्जुन श्रेष्ठ, झरना थापाले देखाएको बाटोमा पल शाह,आकाश श्रेष्ठ,विकास घले गुरुङ,पंकज शर्मा,विक्रम बुढाथोकी ,गोरन चौधरी, पनि स्थापीत हुनुभयो । उत्तम कृष्ण मजगैँया,डा.अमर गीरी, डा.नेत्र एटम, रमेश क्षीतिज पनि राजधानीमा आएर साहित्यमा स्थापीत हुनुभयो । सबैको नाम लिन सकिएन,अन्य सयौं श्रष्टा राजधानीआएर स्थापीत हुनुभयो तर क्षमता हुनेहरुले मोफसलबाट पनिआफुलाई स्थापीत बनाउनु भएको छ । डा.गोवीन्दआचार्य, डा.कृष्णराज डि.सी, टिकारामउदाषी, प्रकाश के.सी, यादव योगी,सन्दिप न्यौपाने देखि लिएर पछिल्लो पुस्ताका सरद समिप मोफसलमा बसेर पनि स्थापीत हुनुहुन्छ । यसर्थ क्षमतालाई कुनै पनि तगारोले छेक्न सक्दैन । रापती समाज काठमाण्डौ दाङ लगाएत राप्तीका श्रष्टा,कलाकारहरुलाई एकबद्ध गर्दै श्रष्टा सम्मान र प्रोत्साहनका लागि एक दशक अघिदेखि क्रियाशिल सामाजिक संस्था राजधानीमा छ । कोहि नयाँ श्रष्ठा, कलाकारले आफ्नो करियरमा कुनै पनि सहयोग चाहनु भएको छ भने पनि वर्तमानअध्यक्षको हैसीयतले म उहाँहरुलाई सम्पर्क गर्नुहुन अनुरोध समेत गर्दछु ।

अन्त्यमा,आगामी दश वर्षपछि शशिशर्मा मजगैंयालाई हामीले कुन स्थानमा के गरीरहेको पाउनेछौं ?
हेर्नुस भविश्य कसले पो देखेको हुन्छ र ? रमाईलो प्रश्नगर्नुभयो । दशवर्षपछिको भविश्य नदेखे पनि सपनाअवश्य देखेको छु । समाजलाई सहि दिशानिर्देश गर्नसक्ने समाजका मुद्धाहरलाई संवोधन गर्न सक्ने जिम्मेवार अभियन्ताको रुपमा नागरीकले पत्याएको यहि समाजभित्रको एउटा महत्वपुर्ण ठाँउमा बसी यहि समाजको सेवागरिरहेको अवश्थामा पाउनुहुनेछ ।

                                                                                                                           प्रस्तुती : भुपेन्द्र प्रकाश ओली ( इन्द्रेणी अनलाइन )