Indrenionline.com

देशका धेरै ठाउँमा वर्षा,अझै दुई दिन पानी पर्ने

काठमाडौं । आज विहानैदेखि देशका धेरै ठाउँमा वर्षा भइरहेको छ । देशका सबैजसो ठाउँमा मनसुन सक्रिय भएका कारण कतै निकै ठूलो त कतै रिमझिम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षातका कारण कतिपय नदी र खोलामा बाढी समेत आएको छ ।

महाशाखाका अनुसार सुनसरीको चतरा, तरहरा, मोरङको केराबारी, विराटनगर एअरपोर्ट, हरैचा, बाउने र आसपास ठूलो पानी परेको छ । सेउती, सर्दु, सुनसरी खोला, बुढी, खेसलिया, चिसाङ, लोहन्द्रा खोलालगायत अन्य स–साना खोलामा आकस्मिक बाढी तथा होचो भागमा डुबानको जोखिम छ । ती क्षेत्रमा पनि सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कपिलवस्तुको कोइली नदी वाणगङ्गा जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको छ ।

त्यसैगरी पाल्पाको कुमलगाउँ, गण्डाकोट, जल्पा, अर्चले, बल्ड्याङगढी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को डण्डा, दुमकौली, सेमारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को देउराली नवल, रुपन्देहीको तिलोत्तमा, भैरहवा, लुम्बिनीको वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको छ । पाटी पर्ने क्रम जारी रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा डुवान हुने सम्भावना भएकाले सतर्कता अपनाउन भनिएको छ । आइतवारसम्म पनि ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । तर पर्सीदेखि भने मौसम सुधार हुने अनुमान गरिएको छ । आइतवारसम्म नै ठूलो पानी पर्ने भएकाले आज र भोलि पहाडी र हिमाली क्षेत्रमा रात्रिबस नचलाउन सरकारले आग्रह गरेको छ ।