दाङ । लुम्बिनी प्रदेश सरकारले राजधानी शहर निर्माणबारे हालसम्म भएका प्रगती र भावी योजनाको बारेमा सरोकारवालासँग छलफल गरेको छ ।
सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा कार्यक्रमको आयोजना गरी मुख्यमन्त्री चेतनारायण आचार्यले संस्थापक मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश सरकारका मन्त्री, संसदीय दलका प्रतिनिधि, प्रदेश सभा सदस्यहरुको विषेश उपस्थितीमा राजधानी शहर निर्माणबारे हालसम्म भएका प्रगती र भावी योजनाको बारेमा छलफल गरेका हुन् ।
राजधानी क्षेत्रका स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी लगायत सरोकारवाला पक्षसँग राजधानी शहर निर्माणबारे छलफल र सुझाव संकलन गरिएको छ । जग्गा एकीकरणको कामले गति लिनुपर्ने, सरकारले लिएको लक्ष्य अनुसार छिटो शहर निर्माणको काम अघि बढाउन सरोकारवाला पक्षले ध्यानाकर्षण गराएका छन् ।
लगानी खोज्दै सरकार
लुम्बिनी प्रदेश सरकारले राजधानी शहर निर्माण गर्न लगानीको खोजी सुरु गरेको छ । एक खर्बको लागतमा २० बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित प्रदेश सरकारले नदी सभ्यतामा आधारित नमुना शहर निर्माणको लागि लगानीको खोजी सुरु गरेको हो ।
पहिलो चरणमा २५ अर्ब बजेटको स्रोत सुनिश्चित गर्न सरकारले पहल थालेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । राजधानी शहर निर्माणका लागि चाहिने स्रोतको खोजी भइरहेको, ऋण लिएर भएपनि जग्गा एकीकरण, शहर निर्माणको कामलाई तिब्रता दिने योजनामा प्रदेश सरकार रहेको मुख्यमन्त्री आचार्यले जानकारी दिए ।
“मुख्यगरी स्थानीय नागरिकहरुको, राजनीतिक दलहरुको, स्थानीय जनप्रतिधिहरुको सामुहिक प्रतिबद्धता आवश्यक छ । उहाँहरुको प्रतिबद्धता प्राप्त भएकै दिनबाट सरकारले ऋण प्राप्तीको प्रक्रिया थाल्छ” मुख्यमन्त्री आचार्यले भने, “प्रदेश सरकारको बजेटले राजधानी शहर निर्माण धान्न सक्दैन, संघ सरकारको बजेट पनि अपुग हुन्छ,यसका लागि दातृ निकायहरुको साथ र वैदेशिक ऋणको खोजी गर्दैछौं ।’
