Indrenionline.com

पूर्वराष्ट्रपति भन्छन् -“देशमा शिक्षाको स्थिति नाजुक छ “

काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले देशमा शिक्षाको अवस्था नाजुक र विकराल रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यादवले देशका अधिकांश सामुदायिक विद्यालयमा मुख्य शिक्षकहरू नपाइने समस्या विद्यमान रहेको बताए । उनले एसइईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु यसकै नतिजा रहेको बताए ।

नेपाली समाजलाई कहाँ लगिँदै छ भन्नेकुरा शिक्षाको स्तर हेरेर नै थाहा हुने बताउदै यादवले शिक्षा विधेयक अहिले संसदमा रहेको भन्दै यसमा आवश्यक विचार विमर्श गर्न आग्रह गरे ।

‘‘अहिले शिक्षा विधेयक हाउसमा छ । राम्रोसँग सोच्नुस्, राम्रोसँग विचार गर्नुस् । कम्तीमा सामुदायिक विद्यालयहरूमा ८० प्रतिशत विद्यालयमा शिक्षक छैनन् । ५२ प्रतिशत विद्यार्थी एसइईमा फेल भए भनिरहेका छन् । मुख्य मुख्य शिक्षकहरू नै छैनन् । राहत वा सामुदायिक स्तरमै राखेर जेनतेन अध्ययन गराइएको छ ।,’’ यादवले भने, ‘‘यसले नेपाली समाजलाई कहाँ लगिएको छ भन्ने देखाउँछ । संविधानको दोष छैन । संविधान गणतन्त्र, लोकतन्त्र, समावेशी छ, सङ्घीयतासहित छ । सारा कुरा छ । तर त्यो लागू कसरी गर्ने देखिरहेको छ ।