काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र नेकपा एमालेसहितको वर्तमान सत्ता समीकरणले अग्रगमन र समृद्धिका लागि संविधान संशोधन गराउने बताए ।
नेकपा एमालेले हालै मनोनीत गरेका उपाध्यक्ष र केन्द्रीय सदस्यको शपथ ग्रहणका लागि आइतबार पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजेको भन्ने भ्रम फैलाउने कोसिस भएको उल्लेख गर्दै मुलुक र जनताको आवश्यकताबमोजिम संविधान संशोधन दस्ताबेज भएको बताए ।
“लोकतन्त्रलाई सुदृढ बनाउन, संविधानप्रतिको ग्राह्यता र स्वीकार्यता बढाउन, विकास र समृद्धिका थप आधार पहिल्याउन र जनतासँग एकाकार हुन संविधान संशोधन गर्ने हो”, प्रधानमन्त्री ओलीले भने, “संविधान कुनै धार्मिक ग्रन्थजस्तो असंशोधनीय विषय होइन। हामीले कुलै लहडका भरमा संविधान संशोधनको कुरा गरेका होइनौँ। मानव केन्द्रित मुद्दालाई ध्यानमा राखेर हामी संविधान संशोधनको सोचमा छौँ।”
प्रधानमन्त्री ओलीले राजनीति स्वच्छ प्रतिस्पर्धाका आधारमा जनताका लागि हुनुपर्ने र एमालेका नेता कार्यकर्ताले जनताप्रति नरम तथा जबाफदेही भएर काम गर्नुपर्नेमा जोड दिए । उनले वैचारिक र साङ्गठनिक रूपमा मुलुकको नेतृत्व गर्ने हकदार पार्टी पनि एमाले नै भएको स्पष्ट पारे । रासस
