काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २८ असार शुक्रबारका दिन प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्। संघीय संसद सचिवालयमा पत्राचार गर्दै प्रधानमन्त्रीले असार २८ गते प्रतिनिधिसभा बैठकबाट विश्वासको मत दिने जानकारी सचिवालयमा पठाएका हुन्।
सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा संविधानको धारा १०० को उपधारा २ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। पत्रमा उक्त दिनको कार्यसूचीमा विश्वासको मतको प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गरिएको छ।
कांग्रेस एमालेबीच नयाँ गठबन्धनको सहमति बनेपछि एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएको हुनाले प्रधानमन्त्री दाहालले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन्।
