Indrenionline.com

मार्गप्रशस्त गर्न प्रचण्डलाई एमालेको आग्रह

इन्द्रेणी संवाददाता

काठमाडौं । विकसित नयाँ राजनीतिक घटनाक्रमसँगै नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । मंगलवार बसेको एमालेको सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता नलिई एमालेले राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्री दाहाललाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आह्वान गरेको हो । राजीनामा नदिए विश्वासको मत फिर्ता लिएर मन्त्रीहरूलाई सामूहिक राजीनामा दिन लगाउने एमालेको तयारी छ ।

सोमबार मध्यराति संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गरेर नयाँ सरकार बनाउनेलगायतका विभिन्न सात बुँदे समहति भएको थियो । एमालेले पहिलो चरणमा अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने कांग्रेससँग सहमति गरेको छ । यो सहमतिसँगै नेपाली राजनीतिमा नयाँ घटनाक्रम विकसित भएको छ । एमालेले प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेपनि उनले भने राजीनामा नदिएर संसदबाट विश्वासको मत लिने बताइसकेका छन् ।