सर्लाही । जिल्ला अदालत सर्लाहीले बाल यौन दुरुपयोगमा दोषी ठहर भएका “तपस्वी” रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार पूर्ण फैसला सुनाउदै अभियुक्त बम्जनविरुद्ध त्यस्तो फैसला गरेको हो ।
यसअघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेको थियो । अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियो ।
जिल्ला अदालत सर्लाहीले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडौंको बुढानिलकण्ठबाट गत पुस २४ गते साँझ सीआईबीको टोलीले पक्राउ गरेको थियो । २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा बम्जन विरुद्ध जाहेरी परेको थियो ।
