काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । पेट्रोलमा लिटरको तीन र डिजेल तथा मट्टितेलमा लिटरको एक रुपैयाँले भाउ घटेको हो ।
घटेको मुल्य अनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा लिटरको १६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा १६४ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायलमा १६५ रुपैयाँ कायम भएको छ ।
यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गअन्तर्गतका ठाउँमा १४० रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत १५१ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत १५२ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको भाउ भने यथावत रहेको निगमले जनाएको छ ।
