केशरमान बुढाथोकी
दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १८ घोरदौडामा विशाल गुफा भेटिएको छ । जिल्लाको सदरमुकाम घोराहीको उत्तर पूर्वी क्षेत्र नम्बर १८ हरिकेश पहाडको फेदमा विशाल गुफा भेटिएको हो ।
जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित घोरदौडाको तल्लो भेग धरमपानी पिपल नेटाबाट पश्चिम करिब ५ सय मिटरको दुरिमा रहेको हरिकेश पहाडको फेदमा रहेको विशाल गुफाका बारेमा स्थानीयहरु जानकार भएपनि प्रचारप्रसार नहुँदा यो ओझेलमा परेको स्थानीय खगेन्द्र महरा बताउछन् ।
यो गुफाको बारेमा आज भन्दा ३५ बर्ष अगाडि नै जानकार भएपनि स्थानीयहरुले यसको महत्व बुझ्न नसक्दा यो गुफा ओझेलमा परेको महराको भनाइ रहेको छ ।
त्यस्तै देशको प्रमुख पर्यटकीय गन्तव्यहरुमा भएको भए यो गुफाको अन्तराष्ट्रिय महत्व हुने भन्दै स्थानीयकै कारण गुफा ओझेलमा परेको स्थायीय तेजा बहादुर बुढाको भनाइ रहेको छ ।
विश्वका धनी राष्ट्रहरु पर्यटन व्यावसायबाट अरबौं कमाएर धनी भएको स्मरण गर्दै दाङमा पनि स्थानीय पर्यटकीय स्थलहरुको पहिचान, संरक्षण तथा प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउनमा स्थानीय तहहरु तथा सरोकारवालाले ध्यान दिनुपर्ने बुढाको भनाइ रहेको थियो ।
