काठमाडौ । आज सार्वजनिक भएको प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाएका छन्। यस्तै ग्लोबल आइएमई बैङ्कमा ५ हजार रुपियाँ, नेपाल बैङ्क लिमिटेडमा एक लाख ५ हजार रुपियाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका छन् ।
त्यसैगरी श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख छ । यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ। श्रीमती र आफ्नो आयबाट ४२ लाखको टाटा नेक्सन इभी कार रहेको गृहमन्त्री लामिछानेले सम्पत्ति विवरण पेस गरेका छन् ।
उपप्रधानमन्त्री महासेठको ४३ तोला सुन
सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार उपप्रधान तथा भौतिक मन्त्री रघुवीर महासेठसँग ४३ तोला सुन रहेको छ। त्यस्तै साढे एक किलो चाँदी रहेको छ। जनकपुर उपमहानगरपालिका र ललितपुर महानगरपालिकामा गरी दुई वटा घर छन्। जनकपुरका जुलीकुमारी महतोको नाममा ३ कट्ठाको घर–घडेरी रहेको छ।
त्यस्तै, ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाममा बनेको घर छ। धनुषाको घर–घडेरी २०५५ सालमा र ललितपुरमा २०५६ सालमा खरिद गरेको जनाइएको छ। पत्नी जुलीकुमारीकै नाममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ७ बिघा ३ कट्ठा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कट्ठा, ललितपुर महानगरपालिकामा १ रोपनी ७ आना, जनकपुर उपमहानगपालिका ९ नम्बर वडामा ३ कट्ठा ११ धुर जग्गा रहेको खुलाइएको छ। यी सबै जग्गा जमिन २०६५, २०५८, २०५६ र २०५४ सालमा खरिद गरेको उल्लेख गरिएको छ।
त्यस्तै, रघुवीर महासेठको नाममा जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ मा १ बिघा १५ कट्ठा जमिन रहेको खुलाइएको छ। यो जग्गाजमिन खरिद तथा पैतृक सम्पत्तिबाट प्राप्त भएको उल्लेख गरिएको छ।
उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीरसँग नगद दुई करोड २५ रुपैयाँ नगद मौज्दात छ। यो रकम काठमाडौँ ललितपुरको साबिक सैंबु, ललितपुर महानगरपालिकाको कित्ता नम्बर २२६, २३१, २४४, ३९२, ३९३, ३९४ लगायतका जग्गाको बिक्री र पैतृक सम्पत्तिबाट आर्जन भएको उल्लेख गरिएको छ। सात थान औँठी, तीन थान सिक्री, तीन जोडी कानमा लगाउने टप, २ जोर सुनका बाला रहेको उल्लेख छ। यो सबै पैतृक सम्पत्ति, खरिद र उपहारबाट प्राप्त भएको खुलाइएको छ।
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायकाजी श्रेष्ठको गोरखा सिरानचोक ८ मा करिब ३८ रोपनी पैतृक सम्पत्ति रहेको छ। त्यो पनि २०५८ सालमा पार्टीमा हस्तान्तरण घोषणा गरिएको र प्रक्रियामा रहेको श्रेष्ठले उल्लेख छ। सिंहदरबारस्थित राष्ट्रिय वाणिज्य बैङ्कको खातामा तलब सुविधाको १ लाख २२ हजार ९१८ रुपियाँ मौज्दात छ।
