काठमाडौ । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण मंगलबार सार्वजनिक भएको हो।
सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ। यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ। उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ।
त्यस्तै भरतपुर महानगरपालिका १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ। पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ। प्रधानमन्त्री प्रचण्डसँग पाँच तोला सुन रहेको र उक्त सम्पत्ति पनि पैतृक रहेको उल्लेख गरिएको छ।
प्रधानमन्त्री प्रचण्डसँग एभरेष्ट बैङ्क लिमिटेड, सिंहदरबारको खातामा २५ लाख नगद मौज्दात रहेको उल्लेख गरिएको छ। उनले यो रुपियाँ प्रतिनिधि सभा सदस्यको तलबभत्ता बापत आर्जन गरेको उल्लेख गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आफूसँग कुनै ऋण, सवारी साधन, कृषि तथा पशुधन नरहेको पनि उल्लेख गरेका छन् ।
