अर्घाखाँची । पछिल्लो समयमा हामीले बाँदर धपाउन स्थानीय तहले अचम्मा अचम्मका उपाहरु अपनाएको सुन्ने गरेका छौं ।
कुनै गाउँपालिकाले बाँदर धपाउन रुख काट्ने अनुमति दिएको खबर सुनेका छौ त कुनैले गुलेली विवरण गरेको सुनेका छौं । यस्तै खबर सुन्दै गर्दा अब अर्काे बाँदर धापाउने उपायको खबर छ । अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर २ ले बाँदर धपाउन किसानहरुलाई भोटे कुकुर वितरण गरेको छ ।
खेतबारीमा अन्नबाली, फलफूल र तरकारी बाँदरले नोक्सानी गरेर हैरानी पारेपछि यसको रोकथामका लागि बुधबारबाट कुकुर बााँड्न थालिएको पाणिनि गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए । यसअघि किसानका हातमा प्लास्टिक–पाइपबाट बनाइएका बन्दुक दिएको थियो भने खेतबारीमा काँडेतार लगाएर पनि बाँदरबाट बाली जोगाउने उपाय समेत अपनाएको थियो ।
यति उपायले बाँदरबाट बालिनाली जोगाउन नसकिएपछि अहिले कुकुर वितरण गरेको हो । धादिङबाट ३, कास्कीको माछापुच्छ्रे गाउँबाट ४ र लेखनाथबाट २ वटा भोटे कुकुर ल्याएर किसानलाई वितरण गरिएको वडा कार्यालयले जनाएको छ । त्यहाँबाट ४० देखि ६० दिनका ९ वटा कुकुर ल्याएर बाँडेको वडाध्यक्ष पौडेलले बताए ।
भोटे कुकुर ल्याउनका लागि वडा कार्यालयले १ लाख ७० हजार रुपैयाँ बजेट छुट्याएको थियो । वडा कार्यालयले कुकुर वितरण गरेपछि किसानहरुले बालीनालीको छेउमा कुकुर बाँधना थालेका छन् ।
