Indrenionline.com

तनहुँ जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी २ नारीघाटमा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सात जना घाइते भएका छन्।

डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो जीप गएराति अनियन्त्रित भई सडकछेउमा पल्टिँदा जीपमा सवार चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा चितवनको इच्छाकामना–५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ, इच्छाकामना–६ बस्ने १९ वर्षीय रुपक गुरुङ, भरतपुर महानगरपालिका–२९ बस्ने टेष्टबहादुर गुरुङ र गोरखाको सहिद लखन गाउँपालिका–३ बस्ने ३० वर्षीय पूर्ण गुरुङ घाइते भएका छन्। घाइतेमध्ये छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।