Indrenionline.com

४१ राजनीतिक दल खारेजीको प्रक्रियामा

काठमाडौँ । निर्वाचन आयोगले ४१ राजनीतिक दललाई खारेजको प्रक्रियामा लाने भएको छ । दलले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगरेको तथा लेखा परीक्षण प्रतिवेदन नबुझाएको, बुझाए पनि सार्वजनिक नगरेरको र जरिवाना तोकेकोमा जरिवानासमेत नबुझाएपछि खारेजी प्रक्रियामा लैजाने भएको हो ।

“४१ दललाई अन्तिम पटकलाई भनेर एक पटक जरिवाना बुझाउन निर्देशन दिने र जरिवाना नबुझाए खारेज प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ”, कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख भट्टराईले भने ।

आर्थिक वर्ष २०७८/७९ को आयव्ययको विवरण नबुझाउने र बुझाए पनि सार्वजनिक नगरेका दलको सङ्ख्या ४० छ । आधुनिक नेपाल समाजवादी पार्टीले भने केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगरेकाले अझै एक पटक जरिवाना बुझाउन म्याद दिने निर्णय भएको छ।

त्यस्तै आयोगले १९ राजनीतिक दललाई नाम परिवर्तन गर्न निर्देशन दिएको छ । संविधान र ऐनको मर्मको भावनाअनुरूप नभएकाले आयोगमा दर्ता कायम रहेका १९ दललाई नाम परिवर्तन गर्न आयोगले निर्देशन दिएको हो ।