काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६ सय५६ युवाले विदेशी भूमिमा ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयबाट छ महिनाको अवधिमा विदेशमा मृत्यु भएर ६ सय ५६ जनाको नाममा सहायता रकम लिइएको छ । बोर्डको कल्याणकारी कोषबाट ३७ करोड पाँच लाख मृतक श्रमिकका परिवारले आर्थिक सहायता लिएका छन् । ।
पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिक मृत्यु हुने गरेका छन् । तथ्याङ्क अनुसार औसतमा दैनिक पाँच वटा शव काठको बन्द बाकस विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् ।
बोर्डका अनुसार आव २०६५/६६ साउनदेखि चालु आवको २०८०/८१ को पुस महिनासम्म १३ हजार ७७ जनाले ज्यान गुमाएका छन् । यो सङ्ख्या बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको मात्रै हो । यस अवधिमा मलेसियामा सबैभन्दा बढी नेपालीको ज्यान गुमाएका छन् । चालु आवको छ महिनामा तीन लाख ५० हजार वैदेशिक रोजगारीमा गएकामध्ये ६ सय ५६ नेपाली श्रमिकले ज्यान गुमाएका छन् ।
