Indrenionline.com

अझै पाएनन् १४ हजारले अस्थायी आवासको रकम

जाजरकोट । जाजरकोटमा भूकम्प पीडितका लागि आएको अस्थायी आवास अनुदान रकम तीन महिना हुँदा पनि १४ हजार बढीले पहिलो किस्ता नै पाउन सकेका छैनन् ।

नेपाल सरकारले भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहमा रकम पठाएको छ । भूकम्प गएको करिब ८२ दिन बित्दासमेत लाभग्राही सूचीकृतले रकम पाउन सकेका छैनन् । नेपाल सरकारबाट जिल्ला विपद् व्यवस्थापन कोषमा भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण गर्न जनही २५ हजार रुपियाँका दरले रकम प्राप्त भएको छ । जिल्लामा ४२ हजार ५२४ लाभग्राही कायम छन् । पहिलो किस्ता रकमका लागि २९ हजार ३२३ लाभग्राहीले स्थानीय तहमा सम्झौता गरेका छन् ।

जसमध्ये २८ हजार ३७६ लाभग्राहीले पहिलो किस्ता रकम २५ हजारका दरले ७० करोड ९४ लाख वितरण भइसकेको छ । भेरी, नलगाड, छेडागाड नगरपालिका, बारेकोट, कुशे, शिवालय, जुनीचाँदे गाउँपालिकाले पहिलो किस्ता रकम वितरण गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार नेपाल सरकारको अनुदान सहयोगबाट माघ १२ गतेसम्म १२ हजार ४९६ जना, सहयोगी निकायबाट ५२२ गरी जम्मा १३ हजार १८ अस्थायी आवास निर्माण भएका छन् । ४२ हजार ५२४ लाभग्राहीमध्ये १४ हजार ८०९ जना लाभग्राहीले अहिलेसम्म पहिलो किस्ता रकम पाएका छैनन् ।